धनगढी नगरपालिका–१ स्थित कब्रस्तानमा बिहीबार बिहान सेनाको टोलीले कोरोना संक्रमित महिलाको शव बस्तीबीचमै रहेको कब्रस्तानमा गाडेको हो । त्यसपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूबीच छलफल गर्दा पनि निष्कर्ष नआए पछि अर्को निर्णय नभएसम्मका लागि कब्रस्तान शिल गरिएको छ ।
स्थानीय बासिन्दाले मानव वस्तीसँगै जोडिएको कब्रस्तानमा गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग समेत गरेका छन् । उनीहरूले कब्रस्तान सधैका लागि बन्द गर्नुपर्ने माग राखेका छन् । स्थानीय बासिन्दाको विरोधसँगै अन्य मृतकको शव व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ती महिलाको मृत्यु भएको थियो । महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका हुन् ।