ट्रम्प सहभागी भएका चुनावी सभाका करिब ३० हजार व्यक्तिमा कोरोना संक्रमण

International

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा र्‍यालीमा सहभागी भएका करिब ३० हजार नागरिक कोरोना संक्रमित भएको देखाएको छ । स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बर महीनासम्मका चुनावी कार्यक्रमको अध्ययन गरेर यो तथ्यांक सार्वजनिक गरेका हुन् ।

र्‍यालीमा सहभागी करीब ७ सय जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अनुमान छ । ट्रम्पले गरेका तीन दर्जन र्‍यालीवाट एक लाख नागरिकमध्ये २ सय ५० जनामा संक्रमित भएको हुनसक्ने अध्ययनको निस्कर्ष छ ।

ह्वाइट हाउसका प्रवक्ता जुड डीरले भने यो अध्ययनलाई ‘राजनीतिक चाल’ भन्दै गलत मानकमा आधारित भएको बताएका छन् । स्टानफोर्डले गरेको अध्ययन निश्चित र्‍यालीमा भाग लिएकाहरुको व्यक्तिगत अध्ययनमा आधारित भने होइन ।

ट्रम्पले र्‍याली गरेका १८ वटा काउन्टीसँग उस्तै जनसंख्या भएका अन्य दुई सय काउन्टीका त्यही मितिमा संक्रमित संख्याको तुलना गरेका संक्रमित र मृतकको संख्या निकालिएको हो ।

ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेट र जनस्वास्थ्य विज्ञहरुले पनि राजनीतिक फाइदाका लागि मतदातालाई जोखिममा पारेको आरोप लगाउदै आएका छन् । अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ ।