ओलीले बालुवाटार बोलाएका जनार्दन शर्मा प्रचण्डलाई भेट्न खुमलटार!

Politics

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्य जनार्दन शर्मा खुमलटार पुगेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनी खुमलटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि बोलाएको कार्यदलसँगको बैठकमा सहभागी नभएर खुमलटार पुगेको उनले बताए। ‘अध्यक्ष दाहालले बोलाउनुभएर गएको थिएँ। पार्टीभित्रको विषयमा थोरै छलफल भयो’ उनले भने।

अध्यक्ष दाहालसँग भएको कुराकानीको विषयमा उनले खुलाउन चाहेनन्। उनलाई कोरोना संक्रमण देखिएपछि केहीसाता यताबाट घरमै आराम गरिरहेका थिए।यता बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अध्यक्ष दाहालनिकट नेताहरू अनुपस्थित भएपछि बस्न सकेन। यस्तै, पम्फा भुसाल पनि कार्यव्यस्तताको कारण देखाउँदै बालुवाटार पुगिनन्।

गत साउन ३० महासचिव विष्णु पौडेलको संयोजकत्व स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालको कार्यदल गठन गरेको थियो।

तर, उनीहरूले एक साता लामो छलफलपछि भदौ ५ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदनको आधारमा भदौ २६ गतेको स्थायी कमिटीको बैठकमा सहमति जुटेको थियो।

अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको कारणले पार्टी फुटको अवस्थामा पुगेपछि प्रधानमन्त्री ओलीले त्यही कार्यदलसँग छलफल गर्न बैठक डाकेका थिए।    महासचिव पौडेल र प्रदेश ५ को पोखरेल ओली निकट हुन्। रावल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्। शर्मा र भुसाल अध्यक्ष दाहाल निकट हुन्।

सोमबार बिहानै महासचिव पौडेलले पनि अध्यक्ष दाहाललाई खुमलटारमा पुगेर भेटवार्ता गरेका थिए।