नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच शीर्ष नेताले आजसम्म अर्का अध्यक्ष केपी ओलीको निर्णय पर्खिने भएका छन् ।
पार्टीभित्र चुलिएको अन्तरविरोध समाधानका लागि सचिवालय बैठक राख्न आग्रह गर्दै आएका शीर्ष नेताहरूले ओलीलाई आजसम्मको समय दिएका हुन् । यसअघि उनीहरूले आइतबार वा सोमबार बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए । ओली आजसम्म पनि बैठकका लागि तयार नभए बहुमत पक्षको औपचारिक बैठक बस्ने विषयमा प्रचण्ड–नेपाल पक्षले छलफल गरेका छन् । आजसम्म बैठक नबोलाइए कसरी अगाडि बढ्ने विषयमा सल्लाह गरेरै निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भने पार्टीको विधानअनुसार बैठक बस्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष प्रचण्डलाई सोमबार सन्देश पठाउनुभएको थियो । तर, प्रचण्डले भने ओली पार्टी विधान र पद्धतिलाई मात्र होइन आफूसहितका नेताहरूको मानमर्दन गर्ने तहमा ओर्लिएकाले मंगलबारसम्म पनि बैठक बोलाउन सहमत नभए बहुमतको औपचारिक बैठक बस्न बाध्य हुने जवाफ फर्काउनुभएको स्रोतले बताको छ ।