कोरोना बिरामीसँग ४ लाख ७८ हजार रुपैयाँ उपचार खर्च मागियो

Health-Education

विराटनगरका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा सरकारले तोके भन्दा बढी आफूखुसी शुल्क तोकेर उपचार गर्ने कार्य अघि बढाएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ ।

सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन २ हजार, लक्षण देखिएकाको अक्सिजनसहित सामान्य बेडका लागि साढे ३ हजार, आईसीयु बेडका लागि ७ हजार र भेन्टिलेटर बेडको १५ हजार रुपैयाँ तोकेको छ । तर विराटनगरका निजी कोभिड अस्पतालहरुले न्यूनतम ५ हजार देखि ५० हजार रुपैया दैनिक शुल्क तोकेर लिने गरेको पाइएपछि स्पष्टिकरण सोधिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यसैक्रममा सिरहा बिष्णुपुरका कोरोना संक्रमित ३५ वर्षीय युवकको उपचार खर्च ४ लाख ७८ हजार रुपैयाँ मागेपछि विराटनगर अस्पताललाई संक्रामक रोग ऐन २०२० अनुसार अस्पताल नै बन्द किन नगराउने भनेर स्पष्टिकरण सोधिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । उहाँले चित्तबुझ्दो जवाफ नआए आवश्यक कानुनी कारवाही गरिने बताउनु भयो ।

विराटनगर अस्पतालमा ४ दिन उपचार गरिएपनि उनको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना उपचारमा बढी पैसा लिएको भए प्रमाण सहित जानकारी दिन पनि सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।