रानीपोखरीको मन्दिर परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले यसपटक पनि भाईटीका लगाउन पाउने भएका छन् । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ । वर्षमा एकपटक भाइ टीकाको दिन मात्र खुल्ने गरेको छ ।
२०७२ सालको महाभूकम्पले रानीपोखरीको क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो। रानीपोखरीको पुन निर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुन निर्माण सकिएपछि सदाझैँ यसपटक मन्दिर परिसरमा बसी टीका लगाइने तयारी भएको छ ।
प्राधिकरणले २७ करोड रुपैयाँ खर्च गरी यहीँ महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । मन्दिरमा क्षति पुर्याएपछि बाल गोपालेश्वर मन्दिरलाई मूर्तिलाई छाउनीस्थित सङ्ग्रहालयमा राखिएको थियो । मन्दिरको निर्माण भएपछि अहिले मन्दिरमा ल्याएर राखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन साताअघि उक्त मन्दिरको उद्घाटन गरेकी थिइन् । भण्डारीले बाल गोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा पूजा गरेयता मन्दिर बन्द छ ।
प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बाल गोपाल, शिवलिंग र हरिशङ्कर गरी तीन मूर्ति छन् । संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो ।
तीन सय वर्ष पहिले बनेको रानीपोखरीको बीचमा रहेको मन्दिर बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ । तर, हालै फेला परेका नयाँ तथ्यले उक्त मन्दिरको नाम बालगोपालेश्वर नभएको उजागर गरेको छ ।
१८७१ साल भदौको लालमोहरअनुसार खडा भएको लगत अनुसार रानीपोखरीको बीचमा गौरीशंकरको मन्दिर छ । उक्त मन्दिरलाई गुठीको लगतमा पनि गौरीशंकरको देवालय भएको उल्लेख छ ।
टुँडिखेलको रानीपोखरीबीच गौरीशंकर किलेश्वरका गुठीको लगतमा रानीपोखरीको दक्षिण ढुंगाको हात्ती पछाडि रहेको मन्दिरलाई कोटी लिंगेश्वर देवालय र उत्तर तिरको मन्दिरलाई किलेश्वर देवालय भनी उल्लेख छ ।
रानीपोखरी र मन्दिरको पुनःनिर्माण भएपछि अहिले पोखरीको पानी सरसफाइ गर्ने काम भइरहेको छ । विशेषगरी भाइ टीकामा मानिसहरुको भिडभाड हुने भएकोले उक्त दिनलाई लक्षित सफाइ काम गरिरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजु मान मानन्धर बताउँछन् ।
रानीपोखरी र मन्दिर दुवैको निर्माण सम्पन्न भएकोले अहिले यसपटक मानिसहरु टीका लगाइ यसको अवलोकन गर्न समेत आउने उनको अपेक्षा छ । पोखरीको संरक्षण काठमाडौं महानगरपालिकाका कर्मचारीले गरिरहेका छन् । समय-समयमा गई प्राधिकरणले पनि यसको सफाइको काम गरिरहेको उनले प्रस्ट पारे ।
रानीपोखरी र मन्दिरको पुन निर्माणको काम सकिएकोले मन्दिरमा टीका लगाउनेको लागि व्यवस्थापन गर्ने तयारी भइरहेको काठमाडौं महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । मन्दिर निर्माण भइनसकेकोले वरपरका भाग सफाइ गरिरहेको उनले बताए