तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति भण्डारी

Politics

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना समते गर्नुभएको छ ।

तिहारको शुभकामना दिँदै भण्डारीले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना पनि राष्ट्रपतिको छ ।

राष्ट्रपति भण्डारीले  तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोरोना महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षामा ध्यान दिई मनाउन आग्रह पनि गरेकी छन् ।

सन्देशमा भनिएको छ ‘यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समय-समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन। चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।’

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरेकी छन् ।