गोरखा सदरमुकाममा भ्यू टावर निर्माण सम्पन्न

News

गोरखा सदरमुकाममा पहिलो पटक भ्यू टावर निर्माण सम्पन्न भएको छ । गोरखा सदरमुकाम र वरपरका दृष्यहरुलाई अबलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण सम्पन्न भएको हो । गोरखा नगरपालिका पाँचको चिल्ड्रेनपार्क हाता भित्र निर्माण भएको दुई तले भ्यू टावर उपभोत्ता समिती मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको हो । उपभोत्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पर्यटक पुर्वाधार भ्यू टावर उपभोत्ता समिति मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको टावरका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । चिल्ड्रेन र्पाकमा जिल्ला भित्र र बाहिरबाट आउने पर्यटकलाई गोरखा बजार तथा वरपरका हिमालको अबलोकन गर्न सहज होस भनेर टावर बनाइएको हो । टावर निर्माणका क्रममा समिति मार्फत २ लाख ५० हजार बरावरको श्रमदान गरिएको छ । ५ तले टावर निर्माणका लागि काम सुरु गरेको भएता पनि पहिलो चरणमा २ तले बनाईएको र बाँकी ३ तलाको लागि बजेट बिनियोजन हुन बाँकी रहेको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाले यस पटक चिल्ड्रेन पार्कमा निर्माण समपन्न भएको टावरमा तला थप गर्ने र कुहीरे भिरमा निर्माणाधिन भ्यू टावरका लागि भनेर यो बर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।