आइओटा आँधीले मध्य अमेरिकामा जनजीवन प्रभावित पारेको छ । स्थानीय समय अनुसार सोमबार बेलुकी निकारागुवाको ग्रामीण पूर्वी तटीय क्षेत्रमा ठोक्किएको आँधी थप शक्तिशाली बन्दै गएको बताइएको छ ।आइओटा आँधी अहिले २ सय ६० किलोमिटर प्रतिघण्टा गतिको वायुसहित मध्य अमेरिकी क्षेत्रमा साझिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइओटा आँधीका कारण भीषण वर्षा हुने मौसमविदले जनाएका छन् ।
मध्य अमेरिकी क्षेत्रमा बाढी आउने तथा नदीमा पानीको बहाव उच्च हुने भएकाले मानिसको ज्यान समेत जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । आँधीका कारण चर्चित पर्यटकीय गन्तव्य समेत रहेको क्यारबियन क्षेत्र स्थित कोलम्बियन आइल्याण्ड कारतगेनामा बाढी आएको छ ।
मध्य अमेरिका पुग्नु पूर्व आइओटा आँधी क्यारबियन क्षेत्रमा रहेको कोलम्बियन आइल्याण्ड प्रोविडेन्सिया हुँदै गुज्रेको थियो । कोलम्बियाका राष्ट्रपति इभान डुक्युएले आइल्याण्डमा आँधीका कारण ठुलो क्षति पुगेको बताएका छन् ।
दुई हप्ता पहिले यता आँधीले गरेको क्षतिलाई उल्लेख गर्दै होण्डुरसका राष्ट्रपति ख्वान हेर्नान्डेज र ग्वाटेमालाका राष्ट्रपति अलेहान्ड्रो गिएमाट्टेइले जलवायु परिवर्तनका कारण मध्य अमेरिका प्रभावित भएको बताएका छन् ।
आँधीका कारण मध्य अमेरिकी क्षेत्रका हजारौँ किसानले लगाएको बाली नष्ट भएको छ । अझै पनि केही क्षेत्र जलमग्न छन् । आइओटालाई एट्लान्टिक महासागर क्षेत्रमा यो वर्षको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । यो क्षेत्रमा यसअघि सन् १९९२ मा यो तहको आँधी आएको थियो ।