श्रद्धा र भक्तिपूर्वक सूर्यको पूजाआजा गरी मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । कात्तिक शुक्ल पञ्चमीमा मनाइने खरानामा विधि पुर्याएर पूजाअर्चना गरे सुख, स्वास्थ्य, समृद्धि तथा सन्तान प्राप्तिका साथै चर्म रोग निको हुने र पाप मेटिने जनविश्वास छ । आज व्रतालु महिलाले दिनभर उपवास बसि साँझ नुहाइधुवाइ गरी कूल देवताको पूजा गर्ने गर्दछन् । यस दिन पूजा कोठामा नयाँ चुल्हो बनाइ गहु वा चामलको पिठोको प्रसाद बनाउने चलन छ । योसँगै प्रसादका रूपमा केरा र खीर पनि चढाइने गरिन्छ । उक्त प्रसाद कूलदेवताको पूजापछि व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्य र छरछिमेकीलाई वितरण गर्ने गरिन्छ । यस दिन परिवारका सदस्य र छरछिमेक एकै ठाउँमा भेला भइ प्रसाद ग्रहण गर्छन् । खरनाबाटै छठ पर्वको व्रत प्रारम्भ हुन्छ । भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । छालासम्बन्धी रोग निदानका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी, जलाशय, कुण्डमा गइ यस दिन छठ पूजा गर्दछन् । खासगरी प्रकृतिलाई पूजा गरिने भएकोले यस पर्वले धनी, गरिब जस्ता विभेद, कुरीति एवम विसङ्गतिलाई अन्त्य गर्नसमेत सहयोग गर्दै आएको विश्वास गरिन्छ ।