आठ महिनादेखि श्रद्धालुका लागि बन्द रहेको पशुपतिनाथ अझै खुला हुन सकेको छैन । भिडभाड हुने अधिकांश क्षेत्र खुला भइसक्दा पनि मन्दिर खुला गर्नुको तुक नरहेको बताइरहँदा विकास कोष भने धैर्य गर्न आग्रह गरिरहेको छ ।
कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै गत वर्ष चैत ११ गते लकडाउन भयो । त्यही वेलादेखि श्रद्धालुका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर अझै खुला गरिएको छैन । नित्यपूजाबाहेकका पूजा आठ महिनादेखि बन्द रहेका छन् ।
बढी घुइँचो हुने भएकाले संक्रमणको जोखिम हुने भन्दै सरकारले मन्दिर सर्वसाधारणका लागि खोल्न अनुमति नदिएको हो । सार्वजनिक यातायात, व्यापार–व्यवसायलगायत चहलपहल हुने स्थल खुलिसक्दा मन्दिर मात्र बन्द गर्नुको अर्थ नरहेको सर्वसाधारणको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषले केही समयअघि स्वास्थ्य सावधानी अपनाएर मन्दिर खुला गर्ने तयारी भइसकेको बताएको थियो । सरकारको निर्देशन मात्र आउन बाँकी रहेको उसको प्रतिक्रिया थियो । तर अहिले कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा धैर्य गर्न सर्वसाधारणलाई सुझाव दिन्छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका जोखिममाा परेको तथ्य एकातिर छ । अर्कोतिर भिडभाड हुने कतिपय क्षेत्र खुला भइसकेको अवस्था पनि छ । यस्तो वेला स्वास्थ्य सुरक्षा अपनाएर पशुपतिनाथलगायत मन्दिर खुला गर्नेतर्फ सोच्न आवश्यक छ ।