जोगबनी नाका खोल्न माग गर्दै एक घण्टा धर्ना

News

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सिल गरेको विराटनगर जोगवनी नाका खुला गर्न माग गर्दै मोरङस्थित जोगवनी नाकामा स्थानीयले शुक्रबार एक घन्टा धर्ना दिएका छन् ।

भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा परिवर्तन समाजको ब्यानरमा स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्ना दिएका हुन् ।

गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा पनि असर परेको स्थानीयको गुनासो छ ।

लकडाउनकै कारण धेरैका आफन्त आउजाउ गर्न र वैवाहिक सम्बन्ध कायम गराउन समस्या भइरहेको अगुवा मोहम्मद कादिरले बताए ।

वैधानिक रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी र कालोबजारी गर्नेहरूलाई फाइदा भइरहेको अधिवक्ता रामलाल सुतिहारले बताए ।

सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले सिल भएको नेपाल–भारत सीमानाका अझै खुला भएको छैन ।