गाउँमा हात्ती आतंक, गाउँले रातभरी जागाराम

News

कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार मध्य रात सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरिदिएपछि स्थानिय त्रासमा छन् ।

राती १ बजेतिर हात्ति आक्रमणमा शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट भएपछि स्थानिय त्रस्त भएका हुन् ।

चार पाँच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।

हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।

स्थानिय मो. जाहागिरले भने, ‘हात्तिले अन्नबाली र घरमा क्षति पु-याउनुका साथै ज्यान समेत लिने सम्भावना बढाएपछि हाम्रो भोक र निन्द्रा दुबै हरेको छ ।’

कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ । यस्तै सय विगहा भन्दा बढी जग्गामा लगाइएको अन्नबाली नष्ट गरिसकेको सीतापुरका कृषक चिरन्जिबी दाहाल बताउँछन् ।

हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।

स्थानिय कृषक इश्वर दाहालले भने, ‘गाउँमा हात्ति पसेको जानकारी गराएपछि प्रहरी आउने र हात्ति धपाउने बाहेक हालसम्म कुनै ठोस काम र उपाय हुन सकेको छैन् ।’ प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले जिल्लामा निरन्तर जारि रहेको हात्ति आंतकबारे संघीय र प्रदेश दुबै सरकारको ध्यानाकर्षण गराइसकिएको बताउँदै अविलम्ब यसको स्थायी समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।