ओलीकै कारण राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन् : देउवा

Politics

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन थालेको बताएका छन्। नेपाली कांग्रेसले हेटौँडामा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।  ‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्। किन यो भन्दै हिँडिरहेका छन्?,’ देउवाले प्रश्न गर्दै भने, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन्।’  देउवाले माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको सम्झँदै भने, ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ। कम्युनिष्ट जित्दा रुन पनि पाइँने छैन। किन रोइस् भनेर आउन बेर छैन।’

देउवाले जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको बताएका छन्। ‘सडकमा भेला गराएर जनतालाई दु:ख दिने हाम्रो उदेश्य होइन।  बाध्य भएर हामीविरोध सभा गरेका हौँ,’ उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट माफी चाहन्छु।’

ओलीले एक दलिया सर्वसत्तावादी लागू गरेको छ कम्युनिष्ट शासन गरेको उनको आरोप छ। देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए। कांग्रेसले अहिलेसम्म शून्य सहशीलता अपनाएको उनको दाबी छ।

‘देशमा एकतर्फी, एकलौटी शासन, बोल्ने लेख्ने अधिकार बन्द गर्न खोजिरहेको छ,’ उनले भने,  ‘सर्वसत्ताबादी सरकार ल्याउन हामीले यो व्यवस्था ल्याएका होइनौँ। कोरोनाको महामारीको बेलामा जनता आज वाक्क भइसकेका छन्। देशभर आन्दोलन गर्नुपर्ने बाध्यता छ।’ देउवाले अदालतलाई नै कम्युनिष्टको गण बनाउन खोजिरहेको आरोप लगाए।