अख्तियार प्रमुख आयुक्तमा प्रेम राई सिफारिस गर्ने तयारी

Politics

संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राईलाई सिफारिस गर्ने भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको बैठकले राईलाई सिफारिस गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

अध्यादेशबाट ऐन संशोधनपछि परिषद्को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र राईलाई प्रमुख आयुक्त सिफारिस गर्ने भएको हो ।

सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेशबमोजिम बैठक सुरु भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थिति रहेका छन् ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ जनाको पद रिक्त छ । तिनै पदहरुमा नियुक्तिका लागि सो बैठक बस्न लागेको हो ।