ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्‍ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन

News

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरुको फोन आउने गरेको बताएका छन्।

संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्‍ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन आएको बताएका हुन्।

सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्‍ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैध चरित्र देखाउने प्रवृत्तिले समस्या भएको बताए।

‘यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्‍ने अनि जब ठेगान लगाउन थाल्यो फोन आउँछ। होइन त्यसलाई त रोक्नुपर्यो नि। उद्योगी त तिर्छु भनेको छ नि चार दिन रोकिदिनु पर्‍यो भन्‍ने। यी खालका जो फोन आउँछन्, अब यो हामीले भन्न खोजेको गर्न खोजेको के हो?’, उनले भने, ‘अब अलिकति सम्बन्धित पक्षले बुझ्नु जरुरी छ। मैले ट्विटर हेरेँ, निकै नेताहरुले किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन् अनि तिनै नेताले फोन गर्छन् र उद्योगीलाई गिरफ्तार गर्न हुन्‍न भन्छन्। यो खालको क्यारेक्टरले पनि समस्या हल गर्नमा बाधक बन्यो।’

उद्योगीहरु जो भए पनि मन्त्रालयले कारबाहीका लागि कानुनी प्रक्रिया बढाएको उनले बताए। उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालयअन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टले प्रस्ट पारे।

तर उद्योग मन्त्रालयसँग ऐन नहुँदा कानुनी दायरामा ल्याउन कठिन भएको पनि मन्त्री भट्टले बताए। ‘उद्योग मन्त्रालयले उद्योगको संरक्षण र त्यसको विकास गर्न पहल गर्ने कि नगर्ने प्रश्‍न पनि आउँछ।

त्यसको अर्थ उद्योगीले अन्याय गर्छ भने त्यसलाई छोड्ने प्रश्न पनि हुँदैन। उसले कानुन मिच्छ, अन्याय गर्छ, कसैलाई उत्पीडन गर्छ भने त्यसलाई कानुनी दायरामा ल्याउने पहल गर्ने समन्वय गरीदिने काम गर्छ। हामीसँग उद्योग मन्त्रालयमा यस्तो ऐन छैन जो हामी आफैं प्रत्यक्ष गएर कारबाही गर्ने कुनै कानुन छैन,’ उनले भने।

उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनबाट कारबाही गर्न नमिल्ने पनि प्रस्ट पारे। मन्त्री भट्टले माइतीघर मण्डलामा आन्दोलनमा आउने किसानलाई आफूले विचौलिया नभनेको पनि स्पष्ट पारेका छन्।

उद्योगीले आफूलाई भनेको कुरामा मिडियाले ट्वीस्ट गरेका कारण विचौलिया छन् भन्‍ने कुरा आएको पनि उनले प्रस्ट पारे। तर त्यसैलाई सत्य मानेर राजनीतिक खेती गर्नेहरुले हल्ला गरेको पनि मन्त्री भट्टले गुनासो गरे। मन्त्रालयले किसानको बक्यौता रकम भुक्तानी गराउन मन्त्रालयले अधिकतम पहल गरिरहेको पनि उनको भनाइ थियो।