किन आपतकाल भन्दा माथि पुग्याे काठमाडाैँकाे वायु प्रदूषण

News

काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरुमा वायु प्रदूषण बढेको छ।

मानव स्वास्थ्यका लागि हानिकारक हुने गरि वायुको गुणस्तर विशेष गरि साेमबारदेखि कम भएको वातावरण विभागले जनाएको छ ।

मंगलबार पनि काठमाडौँ उपत्यकासहित देशभरका मुख्य शहरहरुमा मौसम धुम्मिएको र वायुको गुणस्तर कम रहेको छ।

वायु प्रदूषण बढेपछि रणनीति तय गर्नका लागि आफूहरु छलफलमा रहेको वातावरण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक ईन्दुविक्रम जोशीले बताए।

उनले भने, ‘वायु प्रदूषित भएको छ । स्वास्थ्य मापदण्ड भन्दा प्रदूषणको तह माथि गयो । हामी रणनीति तय गर्नका लागि छलफलमा छौँ।’

वायु प्रदूषणको तह सबैभन्दा धेरै हुने शहरको सूचिमा सोमबार बेलुका नेपालको काठमाडौँ पुगेको थियो। वायु प्रदूषण निगरानी गर्ने आइक्यूएअरको सूचिमा काठमाडौँ शीर्ष स्थानमा पुगेको थियो। त्यसमा एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो।

वातावरण विभागको वायु प्रदूषण निरागनीका अनुसार मंगलबार पनि काठमाडौँसहितका स्थानमा वायुमा धुलोका कणहरु धेरै छन् र वायु प्रदूषण अर्थात एक्यूआई ३१५ को हाराहारीमा छ।

नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ।

वायु प्रदूषण किन भयो?

देशभर अहिले पश्चिमी वायुको प्रभाव छ । तर सो वायुको प्रभाव वर्षा गराउने गरि भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद विभूति पोखरेलका अनुसार हावाको गति कम रहँदा मौसम धुम्मिएको र वायुमण्डलमा रहेका धुलोका कणहरुको सक्रियता भएको छैन। सोही कारण वायु प्रदूषण भएको उनले बताइन्।

यसैगरि वातावरणविद तथा वातावरण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीका अनुसार पनि आद्रतायुक्त वायुको गति कम हुँदा प्रदूषण बढेको हो।

पश्चिमी वायुको प्रभाव सक्रिय रुपमा भएर पानी परेमा अहिले भएको प्रदूषण कम हुने मौसमविद तथा वातावरणविदको भनाई छ।

चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएकाले प्रदूषण उच्च भएको हो।

प्रदूषण कारण काठमाडौँमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएको र मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन्।

सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नु पर्ने उनले उल्लेख गरेका छन्। वायु प्रदूषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्छ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्वका रुपमा यसलाई लिइन्छ।