साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी हटाउने भएको हो । साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले पनि दिएको छ । मंगलबार साउदी अरबमा हुने खाडी राष्ट्रका छ देशको बैठक अघि साउदीको पछिल्लो निर्णय आएको हो । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाईस्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध लगाइएको थियो । कुवेतको पहलमा कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासपछि हटाउने निर्णय भएको हो । यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए । यसैबिच साउदी अरबमा महिलासँग सम्बन्धित कानुन थप खुकुलो भएको छ । नयाँ कानुन बमोजिम अब महिला वा पुरुष जसले पनि आफ्नो नाम आफू एक्लैको निर्णय अनुसार परिवर्तन गर्न पाउने भएका छन । पहिले यो अधिकार पुरुषलाई मात्र थियो महिलाले भने परिवारको अनुमतिमा मात्र आफ्नो नाम परिवर्तन गर्न सक्थे । तीन वर्षअघि महिलालाई गाडी चलाउन खुला गरेको साउदी सरकारले एउटा महत्वपूर्ण कानुन संशोधन गरी थप स्वतन्त्रता दिएको हो । पछिल्लो समय साउदी अरेबियाले महिला स्वतन्त्रता बढाउदै लगेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानले भिजन २०३० सुरुवात गरेका छन् । तेल अर्थतन्त्रवाट साउदी अरेबियाले पर्यटनका लागि आफ्नो ढोका खोल्ने तयारी गरेको छ ।