काठमाडौंको टोखामा दुई जनाको शव शंकास्पद रुपमा भेटिएको छ । बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् । टोखास्थित एक अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले केसीलाई हत्या गरी उनकी पत्नी गिरीले आत्महत्या गरेको हुनसक्ने बताए । केसी दम्पतीको शव पोस्टमार्टमका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । केसीका परिवारले भने हत्यापछि आत्महत्या भनिए पनि घटना शंकास्पद भएको दाबी गरेका छन् ।
मृतक उमेशका दाजु हिमेशले शवलाई परिवारको जानकारीबिनै प्रहरीले मुचुल्का उठाएर अस्पताल पुऱ्याउनुले घटना थप शंकास्पद भएको दाबी गरे । ‘परिवारलाई खबरै नगरी प्रहरीले शव उठाएर अस्पताल पुऱ्याएको छ । हाम्रो जानकारीबिनै किन शव उठाइयो ?,’ उनले भने, ‘त्यसैले यो घटना हत्यापछि आत्महत्या मात्रै हो भन्नलाई विश्वास गर्न गाह्रो छ ।’
उमेश दाजु हिमेशसँग मंगलबार खाजा खाएर छुटेका थिए । मंगलबार दिउँसो ४ बजे छुटेपछि हिमेशको उमेशसँग सम्पर्क भएको थिएन । शनिबार साथीभाइसँग बाहिरै खाना खान्छु भनेर उमेशले आफूसँग भनेको हिमेशले बताए ।
हिमेशले शनिबार बिहान ३ बजे क्यानडास्थित माइजू गीता कार्कीबाट दुवैको मृत्यु भएको घटना थाहा पाएको र अस्पताल पुग्दाखेरी प्रहरीले मुुचुल्कामा सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको घटना उल्लेख भएको बताए । डीएसपी खड्काले परिवारसँग सम्पर्क नभएपछि सुदिक्षाको माइतीतर्फ खबर गरेर शव उठाइएको बताए । सुदिक्षाको माइतीघर घटनास्थलबाट नजिकै छ ।
माइती पक्षले उमेशका आफन्तसँग सम्पर्क नरहेको बताएपछि आफूहरुले मृतकको शव उठाए डीएसपी खड्काले बताए । ‘माइती पक्षले उमेशका परिवारका बारेमा सम्पर्क नभएको बताएपछि हामीले दुवै मृतकको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल पुऱ्याएका हौं,’ खड्काले भने, ‘घटनाको प्राविधिक पक्ष हेर्दैछौं । पोस्टमार्टमपछि थप कुरा बाहिर आउँछ ।’
मृतक उमेशको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरका कुटपिटको नीलडाम छ । सुदिक्षाको शरीरमा भने कुनै चोटपटक नलागेको बताइएको छ । धारिलो हतियार प्रहार गरी उमेशको हत्या भएको प्रहरीको आशंका छ । तर सुदिक्षालाई कुनै चोटपटक नलाग्नुले थप आशंका पैदा गरेको छ । सुदिक्षाको शव झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
हिमेशका अनुसार दशैंको फूलपातीमा नेपाल आएका उमेश जनवरी १४ मा अमेरिका जाने तयारीमा थिए । उनले तीन महिनाअघि मात्रै अमेरिकाको ग्रीन कार्डसमेत पाएको हिमेशले बताए । उमेश २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका थिए । उनकी पत्नी भने नेपालमै बस्दै आएकी थिइन् । उमेशले कमाएको पैसा माइती पक्षले भोगचलन गरेको र पछिल्लो घटना पनि त्यसैसँग जोडिएको हुन सक्ने आशंका हिमेशले गरे ।
काठमाडौंको बानेश्वरका स्थायी बासिन्दा उमेश पत्नीसँग टोखामा बस्दै आएका थिए ।
– कान्तिपुरबाट