त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको छ । टिचिङ अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको हो ।
अस्पताल स्रोतका अनुसार मिस कम्युनिकेशनका कारण डा भण्डारीमाथि हातपात भएको बताइएको छ । बुटवलबाट उपचारका लागि काठमाडौं आएका बिरामीको शुरुमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । ननकोभिड वार्डमा उपचार गरिरहेका ती बिरामीमा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
उनको इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेको र उनको पीसीआर पोजेटिभ आएको खबर फोनमार्फत जानकारी आएको अस्पताल स्रोतले बताएको छ ।
अस्पतालका अनुसार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको खबरसँगै उनलाई कोभिड आइसीयूमा राखि उपचार गरिएको थियो । उनको कोरोना रिपोर्ट लिन जाँदा टेकु अस्पतालले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र दिएको थियो ।
निमोनियाको समेत समस्या रहेका उनको मंगलवार (आज) बिहान ११ बजे निधन भएको हो । मृतकका आफन्तहरुले कोरोना नभएको बिरामीलाई कोभिडको आईसीयूमा राखेको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले ड्यूटीमा रहेका डाक्टरमाथि हातपात गरेको अस्पताल स्रोतले जनाएको छ ।