तोडफोडबाट जोगाउन जोडिए प्रदेशसभाका कुर्सी

News

प्रदेश १ प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडेको छ ।

बैठक कक्षमा नेकपा औपचारिक रूपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखिएको छ । ४७ जना मर्यादापालक रहेकामा १० जना थपिएको पनि सचिवालयले जनाएको छ।

दर्शकदीर्घा र पत्रकारका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिवालयका सचिव गोपाल पराजुलीले बताए । उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने उनले बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो बुधबार बिहानसम्ममा बोलाउन सक्ने बताए ।

बुधबारदेखि बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ । नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा प्रस्ताव पारित गराउन ४७ मत चाहिन्छ ।