प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता टोली

Politics
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।वार्ता टोलीमा प्रवक्ता प्रकाण्ड सहित दीपक चलाउने रहेका पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सरकारसँग वार्ताका लागि विप्लव समूहले केही दिनअघि नै टोली गठन गरेको जनाइएको छ ।

सरकारले यसअघि आजै गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्ता सफल भए सरकारले आजै विप्लव समूहमाथि प्रतिबन्ध पनि फुकुवा गर्ने तयारी गरेको छ ।