विश्वकप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच दशरथ रङ्गशालामा हुने भनिएको खेल स्थगित भएको छ । कोभिडको कारण बारम्बार सारिएको यो खेल चैत १७ गते नेपालमा हुने तय भएको थियो ।
तर अष्ट्रेलियाले कोभिडकै कारण ट्राभल रेष्ट्रिक्सन र क्वारन्टिनको समस्या रहेको भन्दै एएफसीमा निवेदन दिएपछि खेल स्थगित भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एभिन्य खबरलाई बताए ।
चैत १२ गतेलाई तय भएको नेपाल र चाइनिज ताइपेसँगको खेल यसअघि नै स्थगित भएको थियो। फिफाले मार्च ३१ देखि जुन १५ कोलागि अन्तर्राष्ट्रिय खेलकोलागि विन्डो खोलेको थियो ।
अब जुन १५ भित्र सेन्ट्रल भेन्युमा सबै खेल सकाउने डेडलाइन दिएको छ । सेन्ट्रल भेन्युकोलागि प्रत्येक समुहको सबै राष्ट्रले दाबेदारी प्रस्तुत गर्न पाउनेछन् । एन्फाले पनि सेन्ट्रल भेन्युकोलागि दाबेदारी प्रस्तुत गर्ने र सक्दो प्रयास गर्ने अध्यक्ष शेर्पाले बताए । तर नेपालमा खेल हुने संभावना भने न्युन रहेको छ।