Gyanendra

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्रीपेच’ उपहार

News

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्रीपेच’ उपहार पाएका छन् । केही हप्तादेखि भारतको दार्जिलिङसहितको क्षेत्रको भ्रमणमा रहेका ज्ञानेन्द्रलाई ‘श्रीपेच’ उपहार प्रदान गरिएको हो ।

भारत भ्रमणमै रहेका ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ तथा ‘राष्ट्र बचाउ अभियानका अभियान्ता डा. मनोजकुमार झा (डा. मनोज मुक्ति ‘विवेक’)ले पूर्वराजा ज्ञानेन्द्रलाई श्रीपेच उपहार दिएका हुन् ।

तीन हप्ता लामो भारत भ्रमणमा क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको र सो अवसरमा आफूले श्रीपेच दिएकोबारे डा. झाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट हुँदा खिचेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।

‘आम देशभक्त राष्ट्रवादी नेपालीको तर्फबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा, राष्ट्रिय जनतान्त्रिक गठबन्धन, राष्ट्र बचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलनको राष्ट्रिय अध्यक्षको हैसियतले आम नेपाली मनहरुको प्रतिनिधित्व गर्दै “जनताको नासो/श्रीपेच/राज–मुकुटका असली उत्तराधिकारी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारलाई सुम्पियो’, उनले फेसबुकमा लेखेका छन् ।

सो क्रममा पूर्वराजा ज्ञानेन्द्रले आफूलाई फेरि राजा बन्ने र राजगद्दीमा बस्ने चिन्ता नरहेको र आफूलाई देश र जनताको चिन्ता लागेको बताएका डा. झाले जानकारी दिएका छन् ।

आफू दरबारबाट बाहिरिँदा जनताको नासो जनतालाई सुम्पिएको स्मरण गराउँदै उनले अब फेरि जनताले मेरो जिम्मेवारी र अभिभावकत्वको बोध गरेर अन्तिम घडीसम्म देश र जनताको सेवा गर्न तयार रहेको ज्ञानेन्द्रले बताएका झाको भनाइ छ ।