रेशम भन्छन् : जेलमा रहे पनि सांसद हुँ, पार्टीको निर्णय मान्छु

Politics

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का निलम्बित सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका छन्।

जेलबाट एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘म जेलमा छु। जेलमा रहेको व्यक्तिको बारेमा बाहिर जथाभावी भ्रामक र कपोकल्पित कुराहरु ल्याउनु विल्कुलै गतल हो। बाहिर केही मिडियाले गरेको गलत प्रचार प्रति मेरो ध्यान आकृष्ट भएको छ।’

उनले आफू जेलमा रहे पनि म सांसद भएको बताएका छन्।

‘जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ। म गलत शब्दले कसैलाई प्रहार गर्ने परिकल्पना पनि गर्न सक्दैन। पार्टीको विधि, पद्धति प्रक्रियाअनुसार अध्यक्ष महन्थ ठाकुरले काम नै गरि नै रहनुभएको छ’, उनले लेखेका छन्, ‘मेरो दलको अन्य नेताले म प्रति देखाएको सदा सत्यताप्रति म खुशी छु।’

‘सरकारमा सहभागी हुने, नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन त्यो पार्टीको निर्णय होला। पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुराको कल्पना समेत गर्न सकिँदैन’ उनले भने, ‘कृपया जथाभावी कपोकल्पित र भ्रामक समाचार लेखेर मलाई दुखी नबनाई दिनुहोला।’

चौधरीसँग जसपा बरिष्ठ नेता राजेन्द्र महतोले जेलमै गएर बुधबार भेटवार्ता समेत गरेका थिए।