नबिल बैंकको ‘हिरो अफ नेपाल’ बाट सेफ सन्तोष साहलाई सम्मान गरेको छ। बैंकले बिहीबार एक कार्यक्रम गरि सेफ साहलाई ‘हिरो अफ नेपाल’ बाट सम्मानित गरेको हो।
हस्पिटालिटी सम्बन्धी बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को संस्करणमा सन्तोष फाइनलसम्म पुगेका थिए।
कोरोना भाइरसका कारणले हिरोज अफ नेपालको दोस्रो संस्करणमा ढिलाई भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए।
उनले भने, ‘नबिल बैंकले केही समय अगाडि ‘नबिल हिरोज’ सुरु गरेको थियो। कोरोनाका कारणले रोकियो। भनिन्छ नि जे हुन्छ राम्रैका लागि हुन्छ। कोरोनाका कारणले जुन ग्याप भयो, त्यो ग्यापका कारणले हामीले सन्तोष साह जस्तो हिरो पाएका छौँ।’
यस अघि बैंकले निर्मल पुर्जालाई सो उपाधीले सम्मानित गरेको थियो। पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान कामय गरेका थिए। त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरोलाई सम्मान गर्दै आएको र देशका जुनसुकै कुनामा रहेर प्रेरणदायी काम गर्ने नेपाली नागरिकलाई बैंकले सधैँ सम्मान गर्ने बताए।