नेपालगञ्जमा सञ्चालित एन्फा प्रेसिडेन्ट लिग –२०७७ को उपाधि कैलालीको स्टार सिटी युवा क्लबले जितेको छ। नेपालगञ्ज रंगशालामा आइतबार भएको खेलमा स्टार सिटीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो।
स्टार सिटी १६ अंकसहित शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो। प्रतियोगितामा धम्बोझी क्लब, बाँके १२ अंकसहित दोस्रो, मनकामना युवा क्लब, रौतहट तेस्रो र त्रिवेणी युवा क्लब, लमजुङ चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन्।
उपाधि विजेता स्टार सिटीले १० लाख, दोस्रो हुने धम्बोझीले पाँच लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त गर्यो। प्रतियोगिताको शीर्ष चार टिम र शहीद स्मारक ए डिभिजन लिगका शीर्ष ६ टोलीले अब राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्। आइतबार नै रौतहटको मनकामना युवा क्लबले प्रदेश १ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका स्टार सिटीका रुपबहादुर विष्टले ५० हजार रुपैयाँ जितेका छन्। प्रतियोगितामा स्टार सिटीका धनराज थापा उत्कृष्ट रक्षक, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पाए।
प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटीका सदस्य एवं एन्फा केन्द्रीय सदस्य दीर्घबहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्रविक्रम थापा, उपाध्यक्ष अजितराज भण्डारी, सूर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कार प्रदान गरे।