नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन्। उनी फैसलाको पुनरावलोकनको निवेदन लिएर अदालत पुगेका हुन्।
सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ मा तत्काली नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो। प्रचण्डले सर्वोच्चको उक्त फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा गरेका थिए।
सर्वोच्चले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दायर गरेका थिए। सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन्। पार्टीको एकता भंग भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयविरुद्ध मुद्दा नलड्ने सार्वजनिक रुपमै बताएका छन्।
कट्टेलले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो। अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएको छ। एमाले नेता माधवकुमार नेपाल समूहसँगको छलफलपछि प्रचण्ड अदालत गएको हुन्।