शेयर बजारमा एकैदिन ६ हजार पाउण्ड डुबेपछि आत्महत्या

International

शेयर बजारमा एकैदिन ६ हजार पाउण्ड डुबेपछि चीनमा एक कामदारले स्टिल भट्टीमा हामफालेर आत्महत्या गरेका छन् । ३४ वर्षीय वाङ्ग लोङ्गले आफू कार्यरत बाओटोउस्थित स्टील कारखानाको भट्टीमा हामफालेर आत्महत्या गरेका हुन् ।

गत मंगलबार उनी सम्पर्कविहीन भएको जानकारी उनका साथीहरुले दिएका थिए । रातिको ड्युटीपछि उनी बेपत्ता भएको बताइएको थियो । तर कारखानाकै सिसिटिभी फुटेजमा उनी स्टिल उम्लिरहेको भट्टीमा हामफालेको देखिएको हो ।

भट्टीको माथि पुगेर उनी आफ्नो हेलमेट र पञ्जा फुकालेर केहीबेर अलमलिएको उक्त फुटेजमा देखिन्छ । केहीबेरपछि उनी भट्टीमा हाम फाल्छन् । उनको रोजगारदाता कम्पनी ‘बाओगाङ्ग ग्रुप’ ले सो घटनाका बारेमा दुःख व्यक्त गरेको छ । सो कम्पनीले शेयर बजारमा आर्थिक नोक्सानका कारण वाङ्गले आत्महत्या गरेको हुन सक्ने जनाएको छ ।

वाङ्गका सहकर्मीहरुकाअनुसार उनी शेयर कारोबार गर्दै आएका थिए । यसका लागि उनले ऋणसमेत लिएका थिए । एकैदिन ६ हजार पाउण्ड घाटा लागेपछि उनले हतास भएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।