कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र ल्याउनुस् : अर्थमन्त्री

News

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा बिहीबार अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न भनेका हुन् ।

खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै मन्त्री पौडेलले बहुवर्षीय योजनामा जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गरे । सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने उनको भनाइ छ । प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै मन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयको आवश्यकतासमेत औंल्याए । कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उनको भनाइ छ ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिडबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले यो क्षेत्रलाई विशेष ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरे । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिरहेको छ ।