बलिवुड अभिनेत्री शशिकलाको ८८ वर्षमा निधन

Entertainment

बलिवुडमा ७० को दशककी प्रख्यात अभिनेत्री शशिकलाको आइतबार निधन भएको छ । ८८ वर्षको उमेरमा अभिनेत्रीले आफ्नो अन्तिम सास लिइन् ।

उनले करिब सय बलिवुड चलचित्रमा अभिनय गरिन् तर लामो समय देखि उनी बलिवुडबाट टाढा रहेकी थिइन् । शशिको पूरा नाम शशिकला जावलकर हो। शशि एक मराठी परिवारमा हुर्केकी थिइन् ।

कुनै समयमा आफ्नो सुन्दरताले बलिवुड उद्योगमा तहल्का मचाउने शशिकलाको जन्म सन् १९३२ अगष्ट ४ मा भएको थियो । शशिकालाको जिन्दगि निकै उतार-चढावले भरिएको थियो ।  शशिकलाको पहिलो चलचित्र सन् १९४५ को ‘जीनत’ थियो ।

उक्त चलचित्रमा उनलाई पारिश्रमिकको रुपमा २५ भारतीय रुपैयाँ मिलेको थियो । त्यसपछि उनले थुप्रै  चलचित्रमा काम गरिन् ।

फिल्ममा सफलता प्राप्त भएपछि शशीकलाले नायक केएल सहगलका आफन्त ओम प्रकाश सहगलसंग विवाह गरिन् । केहि समय उनिहरुको वैवाहिक जीवन निकै राम्रो थियो र एउटा छोरीलाई जन्म दिए तर पछि मनमुटावको कारणदुवै बिच झगडा भयो ।

उनले तीन बत्ती चार रास्ता, हमजोली, सरगम, चोरी चोरी, नीलकमल, अनुपमा जस्तो चलचित्रमा काम गरिन् । फिल्मको साथ-साथ शशिकलाले टिभीमा पनि काम गरिन् । उनले प्रख्यात सिरियल सोन परीमा फ्रुटीको दिदिको भूमिकामा अभिनय गरेकी थिइन् । सन् २००७ मा उनलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गरेको थियो ।