काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५ सय ५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु.१० अर्ब ५ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र रु. १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कूल रु. २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको पनि बैंकले जनाएको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु. २ अर्ब ४ करोड बराबरको हकप्रद शेयर गरी कूल रु.२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
चालू खाता रु. एक सय ४८ अर्ब ६८ करोडले घाटामा
सरकारको चालू खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.११९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।
यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आइ रु.११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आइ रु.१० अर्ब १८ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५ लाखले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले २०७७ फागुनमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो ।