कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा भएको शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा थिए भने त्यस अघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत थिए । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन भएको थियो । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी रथारोहण कार्यक्रममा भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको थियो । पूर्वराजा शाह यही चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाहका साथ भारत गएका थिए । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् । सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादी नेताहरुको सहभागिता रहेको छ ।