काठमाडौं । नेपाल प्रेस युनियनले पुरानो बसपार्कमा निर्माणाधिन काठमाडौं भ्युटावरको रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीमाथि भएको आक्रमणको ध्यानाकर्षण भएको जनाएको छ ।
सोमवार निर्माणाधिन उक्त भ्युटावरको रिपोर्टिङ गर्न गएका नेपाल आजका सञ्चालक माधवप्रसाद हुमागाँईमाथि आक्रमण भएको हो ।
भ्युटावर निर्माणको जिम्मा पाएका ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाइजर ज्ञान बहादुर राय समेतको मिलेमतोमा गुरागाँईमाथि हातपात, सञ्चार सामाग्री तोडफोड र ज्यानमार्ने समेतको धम्की दिइएको जनाइएको छ ।
प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै युनियनलाई थप आक्रोशित बनाएको बताएका छन् ।
“सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण लगायतको बिषयमा २०७७ चैत्र ३० गते रिर्पोटिङ गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरि सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरिएकोप्रति युनियन खेद प्रकट गर्दछ । ठेकेदार मनोज भेटवालका सुपरभाईजर ज्ञान वहादुर रायले गुरागाईँलाई ज्यान मार्ने धम्की समेत दिएको घटनाले युनियनलाई थप आक्रोशित बनाएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक चासोको विषयमा समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि आक्रमणले सञ्चारकर्मीहरुमाथि प्रताडित बनाएको भन्दै दोषीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै श्रमजिवी पत्रकारको क्षति गरिएका उपकरणको उचित क्षतिपूर्ति दिलाउनका लागि समेत सम्बन्धित निकायसँग माग गरेका छन् ।
“आम नागरिकका चासोका बिषयमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने संचारकर्मीहरु कसरी प्रताडित छन् भन्ने यो घटनाले देखाएको छ । संचारकर्मी गुरागाईँमाथि आक्रमण गरि संचारसामग्री तोडफोड गर्ने मनोज भेटवाल सहितका दोषीहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन नेपाल प्रेस युनियन काठमाडौंको स्थानिय प्रसासन र प्रहरीको गम्भीर रुपमा ध्यानाकर्षण गराउँछ । साथै श्रमजिवी पत्रकारको क्षती गरिएका सञ्चार उपकरणको उचित क्षतिपूर्ती दिलाउन पनि युनियन माग गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै निर्माणाधिन उक्त भ्युटावर निर्माणका क्रममा भइरहेको अनियमित क्रियाकलापको छानविन गर्न माग गर्दै पत्रकारमाथि हुने त्यस्ता घटना नरोकिए प्रेस युनियन आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ-“सार्वजनिक प्रयोजनको लागि निर्माणाधिन टावरको निर्माणका क्रममा भईरहेको अनियमित कृयाकलापको छानविन गर्न समेत युनियन सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदछ । पत्रकारमाथि भएको यस्ता आपराधिक घट्नामा संलग्नलाई प्रशासनिक कारवाही गरि क्षतिपूर्तीको ब्यवस्था नभए युनियन आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी समेत यसै विज्ञप्ती मार्फत दिन चाहन्छ ।”
