भक्तपुरमा खुकुरी हानी युवकको हत्या, एक पक्राउ

Crime

भक्तपुरमा एक गाई फार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ। सूर्यविनायक नगरपालिका–८, सिपाडोलको एक गाई फार्ममा सोलुखुम्बु घर भई मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो।

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले अनुसार काठमाडौं गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलालले खुकुरी प्रहार गरि राईको हत्या गरेको जानकारी दिइन्।

बिहीबार अपराह्न ४ बजेतिर हत्या भएको थापाले बताइन्। हत्यामा संलग्न खुलाललाई प्रहरीले पक्राउ गरेको छ। खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

थापाले विवाद के बिषयमा भएको हो भन्ने बारे नखुलेको बताइन्। खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सोही कोठामा रहेको खुलेको प्रहरीले जनाएको छ। राईलाई खुकुरी प्रहार भएलगत्तै उनीहरू भागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।