कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको प्रहरीले मास्क नलगाई हिँड्ने करिब २४ हजारलाई कारबाही गरेको छ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान अन्र्तगत प्रहरीले माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका सात सय दुई वटा सचेतनामूलक कार्यक्रमबाट एक लाख ४७ हजार दुई सय ९५ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा ११ हजार सात सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई पठाइएको प्रहरीले जनाएको छ।
साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने एक हजार चार सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ। कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो।