सुदूरपश्चिम सरकारले फिर्ता माग्यो पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर

Health-Education

सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो ।

दोस्रो लहरको फैलिदो कोरोना एवम् कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ । जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिर्ता मागेको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘हामीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर मागेका थियौं । जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार गर्दा ४ जिल्ला अस्पतालले दिन्छौं भनेका छन् । तर अहिलेसम्म आएका छैनन् ।’ फिर्ता आएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा जडान गरिने उनले बताए ।

पहाडका ६ जिल्ला अस्पताललाई १०-१० बेडको आइसियू र २-२ वटा भेन्टिलेटर मन्त्रालयले दिएको थियो । प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २–२ भेन्टिलेटर छन् । तर प्रयोगमा छैनन् । उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको जिल्ला अस्पतालले जनाएका छन् ।

हाल सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पतालमा ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ ओटा भेन्टिलेटर सुचारु अवस्थामा छन्।