दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुरा, नाममात्रको छानबिनमा सिमित

News

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भइ २१ वर्षमा प्रवेश गरेको छ । ०५८ साल जेठ १९ गते साँझ राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको सम्पूर्ण परिवारको वंशनाश भएको थियो । राजाहरुमध्ये राजा वीरेन्द्र शान्तिप्रेमी, विकासप्रेमी र जनभावना अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने राजाको रुपमा चिनिन्थे । राष्ट्रियताको हिसाबले राष्ट्रवादि मानिएका राजामाथि आजकै दिन हमला भयो तर घटना भने रहस्यमय रहेकोे छ ।  राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी निर्मम तरीकाले हत्या गरिएको थियो । सो घटनामा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनुको साथै राजपरिवारका १० जना सदस्यहरुको निधन भएको थियो । सो हत्याकाण्डमा मुमा बडा महारानी रत्न सहित पूर्वराजा ज्ञानेन्द्रको परिवार भने सकुशल रहेका थिए ।

उच्च सुरक्षा घेराभित्र राजपरिवारको नै हत्या हुनुलाई निकै रहस्यमय रुपमा हेरिएको छ ।

आजसम्म उक्त हत्याकाण्ड, किन र के को लागि भएको थियो भन्ने पत्तो लाग्न सकेको छैन । घटनापछि तत्कालिन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलका नेता माधव नेपाल बहिरिएपछि दुई सदस्य उच्चस्तरीय समितिले हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । समितिले युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरेको र पछि आफैँलाई गोली प्रहार गरी मृत्यू भएको भन्ने प्रतिवेदन पेश गरेको थियो । तर, आम जनताले दरबार हत्याकाण्डमा युवराज दिपेन्द्रले गराएकोमा अझैसम्म पनि विश्वास गर्न सकेका छैनन् ।

नेपालको आधुनिक इतिहासमा राजपरिवारको वंशै नास हुने गरी कहालिलाग्दो रहस्यमय हत्याकाण्ड भएको २० वर्ष पुरा भइसक्दा समेत घटनाबारे सत्य तथ्य अझै बाहिर आउन सकेको छैन । मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरिसकेको छ । तरपनि हत्याकाण्डको वास्तविकता छानविन गरी सार्वजनिक गर्न कुनै सरकारले चासो दिएको छैन ।