२४ घण्टा बितिसक्दा पनि दीपा अझै बेपत्ता, पौडीबाज प्रहरीहरू भेरीमा परिचालन

News

मंगलवार बिहान ११:३० बजेतिर भेरी नदिमा बेपत्ता भएकी १६ वर्षीया दीपा डाँगीको २४ घण्टा बितिसक्दा पनि केही पत्ता लागेको छैन् । मंगलवार दिउँसैबाट उनको खोजी कार्य शुरु गरिएको थियो ।

दीपाको खोजी गर्न जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

‘पौडीबाज प्रहरीहरूको टोलीसहित बेपत्ता दीपाको खोजीमा लागेका छौं । जाजरकोट जिल्लाको कुदु प्रहरी चौकी, मटेला प्रहरी चौकी र छेडागाड प्रहरी चौकीबाट ३-३ जना गरी ९ जनाको टोली परिचालन गरि खोजि कार्य तिब्र रूपमा जारि छ ।

दीपासँगै उनको बहिनी गीता डाँगी पनि खोलामा डुबेकी थिइन् । जाजरकोट भेरी नगरपालिका-१ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनीसमेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको थियो । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।