काठमाडौं । अफगानिस्तानमा तालिबानी लडाकुहरुको दबदबा बढेपछि अमेरिकाले आफ्ना नागरिकसहित दूतावासका कर्मचारीहरुको उद्दार गरेको छ । आइतबार तालीबानी लडाकुहरु काबुल प्रवेश गरेसँगै अफगानिस्तानमा थप जोखिम बढेको भन्दै अमेरिकाले दूतावासका हेलिक्पटर मार्फत आफ्ना नागरिकहरु उद्दार गरेको हो । अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन् । रोयटर्सले उच्च अधिकारीहरुलाई उद्वृत गर्दै तालिवानी लडाकु चारैतिरबाट काबुलमा प्रवेश गरिरहेको जनाएको छ । तर विस्तृत विवरण दिइएको छैन । कावुलको वरपर विभिन्न स्थानमा गोली चलेको आवाजहरु सुनिएका छन् । तर, अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ ।
तालिवानका एक अधिकारीले रोयटर्सलाई आफूहरुले हताहति नचाहेको बताएका छन् । तर, अहिलेसम्म उसले युद्धविरामको घोषणा गरेको छैन ।
राष्ट्रपति अस्रफ घानीले शनिबार आफू स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग परिस्थितिको विषयमा परामर्श गरिरहेको बताएका थिए । त्यसयता उनको कुनै थप बयान आएको छैन ।