ब्लकचेन प्रविधि (Blockchain Technology) को बढ्दो प्रयोग संगै संसारभर विभिन्न आर्थिक कारोबार तथा उत्पादन क्षेत्रको अभिलेख डिजिटल प्रविधि द्वारा अमेट्य रुपमा स्थापित गर्न सम्भव भएको छ । नेपालमा खसीबाख्राको व्यवसायमा लागेका कृषि उद्धमीहरुले भोगेका समस्याहरुलाई चरण बद्ध रुपमा हल गर्दै यसको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई सुदृढ गर्न हेफर इन्टरनेसनल नेपाल २५ वर्ष देखि लागिरहेको छ । हेफर नेपालले नीतिगत तहमा भएका समस्याहरुलाई निर्मुल गर्न सहजीकरण गर्दै सरकारी निकाय संग निरन्तर रुपमा सहकार्य र समन्वय गर्दै आएको छ । हालको समयमा प्रविधिको बिकाशले विभिन्न समस्याहरुलाई सजिलै हल गर्ने सम्भावना हरु स्थापित भएको अवसरमा प्रविधि को प्रयोग लाई कृषि मैत्री बनाउन सके नेपाल जस्तो कृषि प्रमुख मुलुकले धेरै फाइदा लिन सक्छ ।
हेफर इन्टरनेसनल नेपालले एग्रीक्लियर (Agriclear by Rusman tech) संग सहकार्य गरि ब्लकचेन प्रबिधिलाई खसीबाख्राको अभिलेख राख्ने प्रबिधि निर्माण गर्न नमुना परियोजना कार्यन्वयन गरेको हो । जस अन्तर्गत लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. , हुप्सेकोट – ४, नवलपुरका महिला उद्यमी हरुले हुर्काएका खसीहरु यस प्रणालीमा समावेश भएका छन् ।

यस परियोजना अन्तर्गत खसी बाख्राको जन्मदाको तौल, माउको बिवरण देखि विभिन्न उमेरको तौल, स्वास्थ्य बिवरण, औसधि र खोप सम्बन्धि विवरण हरु यस प्रणालीमा रेकर्ड गर्नका लागि मोबाइल एप LSCMS निर्माण गरिएको छ । जसमा आधिकारिक कृषक, भेटेरिनरी तथा सहकारीका प्रतिनिधि हरुले सूचना दर्ता गर्न अनुमति पाउँछन् । यसरि दर्ता भएका सूचना प्रणालीमा जोडि सके पछि यो अमेट्य हुन्छ र सूचनाको विश्वसनीयता अधिक हुन्छ । कुनै पनि तेस्रो व्यक्तिले यसमा रहेको सूचनालाई फेरबदल गर्न पाउदैनन र तेसरी फेरबदल भएको अवस्थामा सक्कल सूचना पनि संगै सुचनाको ब्लकको रुपमा जोडिएको हुन्छ । त्यसै गरि कृषकले बेचेको समयको उमेर र तौल पनि प्रणालीमा दर्ता हुने हुँदा बिक्रि गर्ने समयमा उपभोक्ताले सजिलै यसको बिस्तृत विवरण जांच गरि उपलब्ध सूचनाको आधारमा निर्णय लिन सक्ने छन् । यस्तो सूचना सजिलै उपलब्ध गराउन खसी को क्यु-आर कोड सहितको परिचय पत्र पनि संलग्न गरिएको हुन्छ ।

हाल यस प्रविधिमा दर्ता भएका खसिहरुको बजारीकरण गर्नका लागी हेफर इन्टरनेसनल नेपालको समन्वयमा लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. र द-लोकल्सको बिचमा सम्झौता स्थापित गरिएको छ । त्यसै गरि ज्ञानेश्वर युवा क्लबको अगुवाईमा दशैं बिशेस खसी बजार ज्ञानेश्वरको नारायणचौर पार्कमा यहि असोज २४ गते बाट सुरु गरिएको छ ।