मनाङका नागरिकलाई जनही साढे तीन लाख बजेट

Economy

सरकारले विनियोजन गरेको बजेट अनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा बजेट पर्ने देखिएको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिकाका अनुसार जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको जनाएको छ।

गाउँपालिकाका अनुसार नार्पाभूमिमा मतदाता संख्या चार सय ४८ छन् ।

मनाङमा सबैभन्दा बढी नासों गाउँपालिकाको जनसंख्या एक हजार ६ सय ७१ छ । संघीय सरकारले १९ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । हरेक नागरिकलाई बजेट विनियोजन गर्ने हो भने जनही एक लाख १७ हजार नाै सय ५३ रुपैयाँ ३२ पैसा बजेट पर्छ ।

सरकारले चामे गाउँपालिकालाई १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जहाँ एक हजार २ सय ७२ जनसंख्या छ । जनही बजेट वितरण गर्दा एक लाख ३३ हजार ४ सय ११ रुपैयाँ ९५ पैसा पर्छ ।

मनाङ निस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । यहाँको जनसंख्या एक हजार पाँच सय ८४ छ । जनही बजेट वितरण गर्दा एक लाख ३ हजार ७ सय ८७ रुपैयाँ ८७ रुपैयाँ पर्छ ।