सडकदेखि सदनसम्म विरोध भएपछि इम्बोस्ड नम्बरमा ताकेता गर्ने निर्णयबाट पछि हट्यो विभाग

News

यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । विभागले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको स्पष्ट पारेको हो ।

२२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’ इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

विभागले आगामी साउन १ गतेबाट अनिवार्य सबै सवारीमा इम्बोस्ड नम्बर राख्नुपर्ने भन्दै ताकेता गरेको थियो । उक्त निर्णयको सडकदेखि सदनसम्म विरोध भएपछि विभाग आफ्नो निर्णयबाट पछि हटेको हो ।

yatayat embossed pr