धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा

Politics

स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बताइएको छ ।

नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले भेट गरी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे जानकारी गराए । यसअघि मेयर प्रजापतिलाई भेट्न काठमाडौंका मेयर बालेन उहिले नै आइसकेका थिए । यसअघि उनी चुनावको मतगणनाबाट आफू जित्ने निश्चित देखिएसँगै पनि भक्तपुर नगरपालिका कार्यालय पुगेका थिए । उनले त्यो बेला कार्यवाहक मेयर एवं भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यलगायत नगरपालिकाका कर्मचारीहरूसँग भेट गरेका थिए ।

बुधबारको भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराए । प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा पनि गरे ।

भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले जानकारी गराए । विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको उनले बताए । उनले भक्तपुर नपा युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताए ।

धनगढी उपमहानरपालिका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानरले वडा क्लिनकको अवधारणा अनुसार गर्भवती महिलाको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रूपमै सुरु गरेको बताए । उनले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताए । जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा उनले जोड दिए ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानरपालिकाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति रहेको थियो । यसअघि भक्तपुरका नगर प्रमुख प्रजापतिले नगर प्रमुख हमाललाई खादा र भादगाउँले टोपीले स्वागत गरेका थिए । सोही क्रममा भ्रमण टोलीले भक्तपुर नगरबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजकोसमेत स्थलगत अवलोकन भ्रमण गरेको थियो ।