बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Crime

श्याम बहादुर दर्जी उपनामले चिनिने श्याम बहादुर थापा पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौंको चन्द्रागिरी न.पा.वडा न १ बस्ने श्याम बहादुर थापालाई आज बुधबार काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो ।
थापाले सानिमा वैंक लिमिटेड, नयाँबजार शाखा कार्यालय, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो । सोही आधारमा वैंकिङ् कसूर मुद्दामा फैसला गर्दै प्रतिवादी थापालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा पाँच दिन कैद र १५ लाख १९ हजार सात सय ५० रुपैंयाँ जरिवाना हुने ठहर भएको थियो ।

यसपछि भने फरार भएका थापालाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले चन्द्रागिरी न.पा.वडा न २, बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।