‘नागरिकता विधेयकमा राजनीतिकरण दुःखद’ – प्रचण्ड

Politics

राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकमा राष्ट्रपतिले अनावश्यक राजनीतिकरण गरेको आरोप लगाएका छन् । बुधबार दिउँसो राष्ट्रपति भण्डारी र माओवादी केन्द्रका शीर्ष नेताहरू बीच भेटवार्ता भएको थियो । राष्ट्रपतिले बोलाएपछि माओवादी केन्द्रका नेताहरू शितल निवास पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिको धारणासँग आफूहरू सहमत रहेको तर संसदमा उक्त विषयमा विषयमा राष्ट्रिय सहमति बन्न नसकेको बताएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रचण्डलाई उदृत गर्दै मल्लले भने, ‘वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन । यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं ।’

सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको प्रचण्डले राष्ट्रपति भण्डारीलाई बताएका थिए ।

‘तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेश गरि तपाईद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ’, प्रचण्डलाई उदृत गर्दै मल्ले भने । ‘अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ ।’

राष्ट्रपतिले नेपाली कांग्रेस र एमालेका नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका नेताहरुलाई नागरिकता विधेयकको बारेमा छलफल गर्न शितल निवास बोलाएकी थिइन् ।