बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठसंग लाइनको विषयमा विवाद भएपछि, शुक्रबार पक्राउ गरिएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि उनलाई छाड्न भन्दै विज्ञप्ति जारी गरेको हो। उनलाई साधारण तारेखमा छाड्न आदेश दिइएको जनाईएको छ।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।
गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उनीसँग भेट गरेर तस्वीर खिचेका थिए । यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।
