स्याङजा जिल्लाको विरुवा गाँउपालीका वार्ड न ३ र पुतलीबजार नगरपालीका वार्ड न २ को सिमानामा पर्ने राङभाङ(भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ (Nepal Owl Festival 2020) आयोजना गरिने भएको छ । राङभाङ क्लब, मिलेनियम टे«क व्यवस्थापन समिती र प्रकृतिका साथीहरु (Friends of Nature, Nepal) संस्थाको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । यसका लागि ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति श्री बालकुमार गुरुङको संयोजकत्वमा गठन गरिएको छ । त्यसैगरि कार्यक्रमलाई सफल बनाउन थप ७ वटा उपसमीतीहरु समेत गठन गरिएको छ । उक्त उत्सवको लागि विरुवा गाँउपालीका, पुतली बजार नगरपालीका, वन उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ स्याङजा, डिभीजन वन कार्यालय स्याङजा लगायत विभिन्न संघ संस्थाहरु, व्यापारी तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

उत्सव यही माघ २४ र २५ गते ] (7-8 February, 2020) दुई दिन गरिने छ । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य समेत राखिएको छ । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।
उत्सवको पहिलो तथा दोश्रो दिन स्वागत गीत, स्थानिय सास्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटि आदिको प्रर्दशनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच समेत प्रदर्शन गर्नेछन् ।
उक्त अवसरमा विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता को आयोजना र उत्कृष्टको प्रदर्शनी समेत गरिनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी पनि गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुती गर्नेछन् । वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टल राख्न अनुरोध गरिसकिएको छ ।
सो अवसरमा स्थानिय रुपमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको छ ।
पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वीचोकको सहयोगमा माघ २४ र २५ गते निशुल्क स्वास्थ शिवीर समेत गर्न लागिएको छ । उक्त अवसरमा महिला, हाडजोर्नी तथा बच्चा सम्बन्धि रोगहरुको उपचारलाई प्राथमिकता दिइने छ ।
उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै जनही नगद रु. २५,०००÷– को ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । यसका साथै स्थानिय दुई संरक्षणकर्मी तथा संस्थाहरुलाई पनि सोहि अवसरमा निजहरुले वन, वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मान गर्न लागिएको छ । साथै लामो समय देखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्न लागिएको छ ।