उहानका नेपाली त्रासमा

Health-Education

चीनको हुबेई प्रान्तको राजधानी उहानमा रहेका नेपालीलाई उद्धार गरी ल्याएपछि कहाँ राख्ने भन्ने निर्णय सरकारले अझै लिनसकेको छैन। हुबेई प्रान्तमा रहेका १ सय ८० नेपालीले स्वदेश फर्कनको लागि बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका छन्। नेपाल सरकारले उनीहरूलाई कहाँ राख्ने र लिनको लागि कहिले जहाज पठाउने भन्ने निर्णय लिन नसक्दा दूतावासले चीन सरकारसँग अनुमति लिन पाएको छैन।

‘नेपाल फर्कन इच्छा व्यक्त गर्ने नेपालीको संख्या १ सय ८० पुगेका जानकारी दूताबासबाट प्राप्त भएको छ।

हुबेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्न पहिला उनीहरूलाई नेपाल ल्याई कहाँ राख्ने निक्र्याैल गर्नुपर्ने हुन्छ। त्यति मात्र होइन, उनीहरूलाई लिन जहाज कुन दिन कति बजे जाने हो सो चीन सो जानकारी चीन सरकारलाई पठाउन र स्वीकृत गराउनुपर्छ।

त्यसपछि मात्र चीनले नेपाललाई आफ्ना नागरिक उद्धार गर्न अनुमति दिनेछ। तर स्वास्थ्य मन्त्रालयले उद्धार गरी ल्याईने नेपालीलाई कहाँ र राख्ने भन्ने निर्णय लिन नसक्दा बेइजिङस्थित दूतावासले थप प्रक्रिया अघि बढाउन पाएको छैन।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई कम्तीमा पनि १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ। १५ दिनसम्म उक्त भाइरसको सङ्क्रमण नदेखिए मात्र उनीहरूलाई घर जान दिइनेछ।

नेपाल फर्कनुअघि उनीहरूलाई उहानमा पनि चिनियाँ चिकित्सकहरूले स्वास्थ्य परिक्षण गर्नेछन्। स्वास्थ्य परिक्षण गर्दा कोरोना भाइरस देखिएकाहरूलाई नेपाल फर्किन दिइने छैन भने उनीहरूको उपचार उहानमै हुनेछ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीन सरकारले उद्धारको लागि जहाज लाने र ल्याउने अनुमति दिएपछि मात्र हुबेइमा रहेका नेपालीलाई उहानको एक ठाउँमा जम्मा गरिनेछ। उहानबाट ८ सय किलोमटिर टाढा रहेका नेपालीले उद्धारको लागि आवेदन दिएका छन्।

उहानमा कोरोना भाइरस बिरामी र मृत्यु हुनेको सङ्ख्या बढेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। महामारीको रूप लिएको कोरोना भाइरसबाट आफ्ना नागरिक बचाउन अमेरिका, जापान, बेलायत, दक्षिण कोरिया, भारत लगायत बिभिन्न देशले उहानबाट आफ्ना नागरिक उद्धार गरिरहेका छन्।

यसै क्रममा नेपालले पनि आफ्ना नागरिकको उद्धार कार्य प्रारम्भ गरेको हो।