काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरु बीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यान समेत त्यस्तै स्टाल तर्फ नै बढी छ । बिशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवा प्रदायकले स्टलबाट दिएको छूटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ ।
प्रदर्शनीमा सेवा मुलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छूटमा अवलोकनकर्ताको भिड छ । तर, ठूला व्यवसायिक स्टलमा भन्दा साना तथा दैनिक जिवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइचो देखिन्छ ।क्यान इन्फोटेकमा वल्र्डलिङ्क, भायनेट, एनसेल, नेपाल टेलिकम, स्मार्ट सेल लगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छूट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेका छन् । एलजीले आफ्ना समान खरीदमा छूट सहितको अफर राखेको छ ।
स्मार्ट सेल, एनसेल र नेपाल टेलिकमले सिमकार्ड वितरणलाई मूख्य प्रथामिकतामा राखेका छन् ।
दैनिक रुपमा देखिने चिजविजमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिंग लगायतका नयाँ प्रविधि परेका छन् ।
प्रदर्शनीमा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् । अवलोकनकर्ताले ती स्टार्टअपहरुले दिने सेवामा चाँसो देखाइरहेका छन् ।
एक सय ७५ स्टल रहेको प्रदर्शनीमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टल समेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।